काठमाडौं, पुस ८ । काठमाडौं महानगरपालिकाले आज आफ्नो मातहतका विद्यालयहरूमा अनुगमन गर्ने भएको छ । क्रिसमसको पूर्वसन्ध्यामा सान्टा बनाउने नाममा विदेशी संस्कृतिको प्रचार गरेको गुनासो आएपछि महानगरपालिकाले यसअघि नै अतिरिक्त पोषाक किन्न विद्यार्थीलाई बाध्य नपार्न चेतावनी दिएको थियो ।
स्कुलले आइतबार साना कक्षाका सबै विद्यार्थीलाई सान्टाको लुगा लगाएर आउन भनेपछि अभिभावकले महानगरमा गुनासो गरेका थिए । गुनासो बमोजिम महानगरपालिकाले यस्तो चेतावनी दिएको थियो ।
काठमाडौं महानगरपालिकाका शिक्षा प्रमुख सीताराम कोइरालाले आइतबार देखि विद्यालयहरुमा अनुगमन शुरु गरिने बताए । महानगरले कुनै एउटा मात्रै चाडलाई लक्षित गरी नभनेको उनको भनाइ छ ।
‘सबै चाडपर्वको लागि भनेको हो । कुनै एउटा चाडलाई मात्र लक्षित गरेर भनेको होइन । हामी आइतबार विशेष निगरानी गर्छौं’, उनले भने । यदि पोशाक किन्न बाध्य पारेको पाइएमा स्कुल र शिक्षक कारबाहीमा पर्ने कोइराला बताउँछन् ।