काठमाडौं, पुस ८ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालतले न्यायाधीश शिशिरराज ढकालको इजलासमा उक्त मुद्धाको पेशी तोकेको छ।
जिल्ला अदालत काठमाडौँमा दायर भएको जबरजस्ती करणीको मुद्दामा अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो । आज मुद्दाको किनारा लगाउने बताइएको छ ।
यसअघि पनि फैसलाका लागि भनेर पटकपटक पेसी तोकिए पनि विभिन्न बाहानामा मुद्दाको किनारा लाग्न सकेको छैन्। पछिल्लोपटक गत मंसिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए।
गत वर्ष भदौ २१ गते आफूलाई बलात्कार गरेको भन्दै काठमाडौं गौशाला प्रहरी कार्यालयमा एक किशोरीले सन्दीपविरुद्ध उजुरी दिएकी थिइन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका लामिछानेलाई २०७९ साल पुस २८ गते पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा गरिदिएको थियो।