Kath khabar
आज ‘क्रिसमस डे’, विश्वभरिका क्रिश्चियन धर्मावलम्बीहरुले मनाउँदै

 

                     काठमाडौं, पुस ९ । आज विश्वभरीका ईसाई धर्मावलम्वीहरुले येशु क्रिष्टको जन्मोत्सव 'क्रिसमस डे' मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर २५ तारिखका दिन विश्वभर मनाउने गरिन्छ ।

नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् । ‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिंदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

क्रिसमसका अवसरमा काठमाडौं, ललितपुर, भक्तपुर र पोखरालगायत स्थानमा विशेष रौनक छ । बजार र ठूला व्यापारिक स्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ ।

यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गरेका छन् । यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउएका छन् ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update