Kath khabar
लामाटारमा अन्तर्राष्ट्रियस्तरको बेसबल रङ्गशाला बनाउनेबारे छलफल अन्तिम चरणमा

 

                ललितपुर, पुस ९ । महालक्ष्मी नगरपालिका वडा नं ९ लामाटारमा अन्तर्राष्ट्रियस्तरको बेसबल रंगशाला बनाउनेबारे महालक्ष्मी नगरपालिकामा विस्तृत र प्राविधिक छलफल भएको छ ।

सो वडाका वडाध्यक्ष जयकृष्ण बोगटीको पहलमा राष्ट्रिय बेसबल संघका अध्यक्ष  दीपक न्यौपाने लगायतका पदाधिकारीहरूले आइतबार महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जन र कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि पौडेलबीच छलफल भएको थियो ।

छलफल कार्यक्रममा संघका बागमती प्रदेशका अध्यक्ष तथा केन्द्रीय कोषाध्यक्षको साथै वडा नं ९ का वडा सदस्यहरु समेत सहभागी थिए । यसअघि राष्ट्रिय बेसबल संघका अध्यक्ष लगायतका पदाधिकारीहरूले महालक्ष्मी नगरपालिका वडा नं ९ का विभिन्न ठाउँमा रहेको सार्वजनिक जग्गाको स्थलगत निरीक्षण गरि रंगशालाको लागि आवश्यक पर्ने सार्वजनिक जग्गाको छनौटको प्रकृया शुरु गरिसकेको छ ।

संघको प्राविधिक टोलीले सो वडाभित्र पर्ने ज्यागटा, डाँडाथोक लगायत अन्य ठाउँमा रहेको सार्वजनिक जग्गाको स्थलगत निरीक्षण गरिसकेको वडाध्यक्ष जयकृष्ण बोगटीले बताए । संघका पदाधिकारीहरूले निरीक्षण गरेको जग्गामध्ये उपयुक्त जग्गा वडाले उपलब्ध गराएलगत्तै राष्ट्रिय बेसबल संघले रंगशाला निर्माणको लागि आवश्यक पर्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नको लागि आवश्यक रकम विनियोजन विनियोजन गर्ने जनाएको छ ।

रंगशाला निर्माण गर्न कम्तिमा ६० रोपनी जग्गा आवश्यक पर्ने संघका अध्यक्ष दीपक न्यौपानेले बताएका छन । रंगशाला निर्माणको लागि करिव ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । महालक्ष्मी नगरपालिकाकै महत्वपूर्ण र प्रतिष्ठाको आयोजनाको रुपमा रहेको अन्तर्राष्ट्रियस्तरको पहिलो बेसबल रंगशाला लामाटारमा बनेमा लुभु र लामाटारको साथै महालक्ष्मी नगरपालिकामा खेलकुदको विकासमा कोशेढुङगा सावित हुने वडाध्यक्ष बोगटी बताउँछन् ।

यसैगरी वडाध्यक्ष बोगटीकै पहलमा राष्ट्रियस्तरको भलिबल रंगशाला र तालीम केन्द्र निर्माणको लागि लामाटारकै अरु ठाउँमा सार्वजनिक जग्गा खोजी कार्य भइरहेको र भेटिएका ठुलो क्षेत्रफलका जग्गा नेपाल भलिबल संघका पदाधिकारीहरूले निरीक्षण गरिसकेका छन् ।

जग्गा निरीक्षणका क्रममा संघका अध्यक्ष जितेन्द्र चन्द, भलिबल संघका पूर्व क्याप्टेन तथा डिएसपी भरत शाह र अन्तर्राष्ट्रिय खेलाडी मधुकर थापासमेत सहभागी थिए ।

 

 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update