काठमाडौं, पुस ९ । नेपाल वायु सेवा निगमसँग थाई एअरवेजले ग्राउन्ड ह्यान्डलिङ सेवा लिन शुरु गरेको छ । निगम र एअरवेज बीच ग्राउन्ड ह्यान्डलिङ सेवा सम्झौता भएको हो ।
निगमको ग्राउन्ड ह्यान्डलिङ सेवालाई अझै राम्रो बनाउन थाई एअरवेजले ८० थान ग्राउन्ड ह्यान्डलिङ सम्बन्धित सामग्री समेत निगमलाई हस्तान्तरण गरेको छ । सामग्री निगमको स्वामित्वमा रहने गरी निगमका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारी र थाई एअरवेजको तर्फबाट एअरवेजका वेस्टर्न एन्ड मिडिल इस्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर गर्नुभएको निगमका प्रवक्ता रमेश पौडलले बताउनुभयो ।
उहाँले विगत लामो समय देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको थाई एअरवेजले निगमको ग्राउन्ड ह्यान्डलिङ लिनुले निगम माथिको विश्वास बढेको बताउनुभयो । प्रवक्ता पौडेलले थाई एअरवेजले निगम माथि विश्वास गर्नु निगम माथि भएको आक्रमण र उठेको प्रश्नको जवाफ भएको बताउनुभयो ।
गएको मङ्सिर १५ गते नागरिक उड्डयन प्राधिकरणले निगमले गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट मात्र दिने निर्णय गरेको थियो । प्राधिकरणले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाको माध्यमबाट छनोट भएको संस्था मार्फत गराउने’ निर्णय गरेको थियो । यो निर्णयसँगै निगमका कर्मचारीले ट्रेड युनियन सङ्घर्ष समिति बनाएरै आन्दोलन गरेका थिए ।