Kath khabar
नेवार समुदायले आज योमरी पुन्हि तथा किराँतले उधौलीपर्व मनाउँदै

 

                  काठमाडौं, पुस १० । आज मार्ग शुक्ल पूर्णिमा । विभिन्न समुदायका व्यक्तिहरुले आजको दिनलाई फरक–फरक नाममा चाडको रुपमा मनाउँदैछन् । आजको दिनलाई नेवारी समुदायले योमरी पूर्णिमा (ज्यापु दिवस) मनाउँदै छन् भने किराँत समुदायले उधौली पर्वको रुपमा मनाउँदैछन् ।

उपत्यकाका नेवारभित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् ।  यस पर्वमा विशेष गरी चामलको पिठोबाट बनाइने स्वादिष्ट पकवान यःमरी खाने र पूर्णिमाको दिन मनाइने भएकाले यस पर्वको नाम यःमरी पुन्हि रहन गएको हो । नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ ।

यःमरीलाई पञ्चतत्त्वको रुपमा मानिएको छ । यःमरीमा धरतीको रूपमा चामलको पिठो, अग्निको रूपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रूपमा तिललाई लिइन्छ ।

यःमरी पुन्हि सुरु हुनुअघि घर–घरमा भित्र्याइएको धानलाई पाँच–छ दिन छोपेर राखी, घाममा सुकाएर पूजा गरेपछि मात्र भकारीमा राखिन्छ । नयाँ धान वर्षभरिका लागि पूगोस् भनेर नेवार समुदायमा धानलाई पूजा गर्ने प्रचलन छ ।

आजको दिन धान राखिएको भकारी, ढुकुटी, घ्याम्पोलगायतका भाँडामा नयाँ चामलको पिठोबाट यःमरी बनाएर पाथीभरि यःमरी राखेर धानलाई अन्नपूर्ण देवताका रूपमा पूजा गर्ने परम्परा रहेको छ । यःमरी पुन्हिका दिन गृहणीहरु शुद्ध भएर चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा राखी क्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गरिन्छ ।

यस दिन पूर्वी पहाडी जिल्लाका किराँत समुदायले उधौली पर्व मनाउँछन् । नेपाली किराँत समुदायका विशेषगरी राई, लिम्बु, याक्खा, सुनुवार, थामी, सुरेल, जिरेल, हायु, छन्तयाल, धिमाललगायतका जातजातिको मुख्य पर्वको रुपमा रहेको उधौली पर्व देशभर पुजाआजा गरि मनाइँदै छ । मुलरुपमा यी जातजातिले आ-आफ्नो पुख्र्यौली थलोमा उधौली पर्व मनाउने गरेपनि पछिल्लो समय विभिन्न सहरमा पनि मनाउन थालिएको छ ।

यस दिनमा किराँती समुदायले आफ्नो पुर्खा र प्रकृतिलाई सम्झने र सम्मानस्वरुप पुजाआजा गर्ने गरेका छन् । खेतमा लगाएको बाली भित्राइसकेको यो समयमा बाली लगाउनेदेखि भित्र्याउने बेलासम्म प्रकृतिले वातावरण अनुकुल पारिदिएको भन्दै प्रकृतिलाई धन्यवाद दिनु यस पर्वको विशेषता रहेको छ । खसआर्य समुदायले पनि यस दिनमा कूल पूजा, देवाली पूजा गर्ने गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update