काठमाडौं, पुस ११ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंमा आज बुधबार पनि सुनुवाइ हुँदैछ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु गरिएको र बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुन लागेको हो । सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले बुधबार उक्त मुद्दा न्यायाधीश ढकालकै इजलासमा सुनुवाइ हुनेछ । आज पीडितका तर्फबाट बहस पूरा भएपछि सन्दीपका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् ।
उमेरसम्बन्धी कागजातहरु विवादित भएको खण्डमा न्यायाधीशले सबैभन्दा पुरानो कागजलाई आधिकारिकता दिने प्रचलन छ । बालिबालिकासम्बन्धी ऐन २०७५ ले यो विषयलाई सम्बोधन गरेको छ । सो ऐनले उमेरको छिनोफानो गर्न पाँच वटा कागजातलाई आधार बनाएको छ, जसमा नागरिकता पर्दैन । ऐनले उल्लेख गरेका पाँचवटा आधार हेर्दा गौशाला २६ नाबालिग रहेको दाबी कमजोर हुने देखिन्छ ।
लामिछानेविरुद्ध नाबालिग बलात्कार मुद्दाको थुनछेक बहसमा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।