Kath khabar
१७औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा आज हात्ती शृङ्गार प्रतियोगिता हुँदै

 

                   चितवन, पुस ११ ।  चितवनको सौराहामा शुरु भएको १७औँ हात्ती तथा पर्यटन महोत्सवमा आज दोस्रो दिन हात्ती शृङ्गार प्रतियोगिता हुँदैछ ।

हात्ती शृङ्गार प्रतियोगितामा माहुतेले राम्रो स्याहार गरेर सफा र स्वस्थ राखेका हात्तीबाट विजेता घोषणा गर्ने क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका सचिव महेश खनालले बताउनुभयो । यसमा ७ वटा हात्ती सहभागी हुँदैछन् । आज हात्ती शृङ्गार प्रतियोगिता, भोलि राप्ती नदीमा डुङ्गा दौड, पर्सि शुक्रवार हात्तीको वनभोज र शनिवार समापनको कार्यक्रम छ ।

हिजो देखि शुरु भएको ५ दिने महोत्सव रत्ननगर नगरपालिका-७ मैनाहाको चित्रसारी पुलनजिक चौरमा आयोजना गरिएको छ । क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकलाई सौराहा आउने वातावरण बनाउने उद्देश्यले सन् २००४ मा हात्ती दौड कार्यक्रमको थालनी गरिएको थियो । त्यसयता हात्ती सम्बन्धित अन्य गतिविधि पनि थपिँदै गएका छन् ।

कोरोना पछि लगातार ३ वर्ष रोकिएको यो कार्यक्रम यसपालि फेरि शुरु भएको हो । क्षेत्रिय होटल संघ (हान) चितवन सौराहाले गर्दै आएको महोत्सवको मुख्य सहआयोजकमा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुरेण्ट एण्ड बार एसोसिएशन चितवन छन् । 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update