काठमाडौं, पुस १२ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । काठमाडौं जिल्ला अदालतमा बुधवार न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेको उनको मुद्दामा आज पनि सुनुवाई हुन लागेको हो ।
बुधवार जाहेरी पक्षका वकिलहरूले बहस सकेसँगै आज बिहीबार सन्दीप पक्षका वकिलको बहस हुनेछ । न्यायाधीश शिशिरराज ढकालको इजलासमा गत शुक्रवारदेखि उक्त मुद्दा अन्तिम सुनुवाइका लागि पेसी चढेको थियो । तर बहस हुन सकेको थिएन । आजै बहस सकिएको खण्डमा यस मुद्धाको फैसला आजै पनि आउन सक्ने बताइएको छ।
१८ वर्षभन्दा कम उमेरकी किशोरीमाथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ। सर्वोच्च अदालतले गत १५ फागुनमा नै यो मुद्दाको चाँडो फैसला गर्न आदेश दिएको थियो । फैसलाका लागि यसअघि पटक–पटक पेशी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन ।