Kath khabar
गौशालाबाट हराएकी दुई वर्षीया बालिकाको भक्तपुरबाट उद्धार


                           काठमाडौं, पुस १२ । काठमाडौंको गौशालाबाट हराएकी दुई वर्षीया बालिकाको भक्तपुरबाट उद्धार गरिएको छ । मंगलबार साँझ पशुपतिनाथको १ नम्बर गेट नजिकैबाट हराएकी आकिशा सुनुवारलाई प्रहरीले उद्धार गरेको हो ।

बालिकाका अभिभावकले पशुपतिनाथ मन्दिरको गेटमा चिया पसल चलाउँछन् । उनकी आमाले पसलबाट एक जना व्यक्तिले बालिकालाई अपहरण गरेको भन्दै प्रहरीमा उजुरी गरेकी थिईन् । त्यसपछि जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले बालिकाको खोजी थालेको थियो ।

उपत्यका प्रहरी कार्यालयका अनुसार उनलाई भक्तपुरस्थित सूर्यविनायक नगरपालिकास्थित दधिकोटबाटबाट अपहरण मुक्त गरिएको छ । साथै अपहरणमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चिया पसलमा नियमित आइराख्ने व्यक्तिले बालिकालाई लिएर पठाओमा गएका थिए ।

सीसी टीभी क्यामरालगायतको सहयोगमा बालिकालाई भक्तपुरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान जारी छ ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update