ललितपुर, पुस १३ । ललितपुर महानगरपालिका वडा नम्बर १९ को आयोजनामा आज शुक्रवार देखि सद्भाव मेला हुँदैछ । ३ दिनसम्म चल्ने मेलामा वडा नम्बर १९ का विभिन्न ठाउँमा टोलको विशेषताअनुसार विभिन्न गतिविधि सहित प्रदर्शनी हुँदैछ ।
मच्छिन्द्रबहालमा रातो मच्छिन्द्रनाथको रथ बनाउन प्रयोग गरिने विभिन्न काठको प्रदर्शनी, इतिटोलमा रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याउने राजा नरेन्द्रदेव, बन्धुदत्त आर्चाय र ललित ज्यापूको मूर्ति, अग्निशालमा ज्यापू सङ्ग्रहालय लगायतको प्रदर्शन गरिने वडाध्यक्ष राजेन्द्र महर्जनले जानकारी दिनुुभयो ।
त्यस्तै तिन्छुगल्लीमा प्रदर्शनीका लागि परम्परागत धातुका सामान लगायतको प्रवेशद्वार पनि राखिएको छ । प्रदर्शनीको उद्घाटन महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दिउँसो १ बजे गर्ने कार्यक्रम छ ।