Kath khabar
वाइवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश


                         काठमाडौं, पुस १३ । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाई चाउचाउको ट्रेडमार्क नक्कल गरि करेन्ट चाउचाउ उत्पादन र बिक्री वितरण गर्न रोक लगाएको छ ।

उक्त कम्पनीद्वारा उत्पादित करेन्ट चाउचाउले विश्वभर ख्यातिप्राप्त एवं नेपालको सर्वाधिक लोकप्रिय वाइवाई चाउचाउको ट्रेडमार्क नक्कल गरि वाइवाई जस्तै देखिने र्यापर प्रयोग गरि उपभोक्तालाई भ्रममा पार्ने काम गरेको थियो । उच्च अदालत पाटनको संयुक्त इजलासले पुस ११ गते यशोदा फुड्सलाई यस्तो कार्य नगर्न अन्तरकालीन आदेश जारी गरेको हो ।  

यशोदा फुड्सले वाइवाईको ट्रेडमार्क नक्कल गरि उपभोक्तालाई भ्रमित पार्ने काम गरेपछि सीजी फुड्स उक्त कार्य तत्काल रोक्ने माग गर्दै अदालत गएको थियो । चार दशक लगाएर वाइवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातिलाई दुरुपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाइवाईको ट्रेडमार्क नक्कल गरेको थियो ।

यशोदा फुड्सले वाइवाईको नक्कल गरि उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्न समेत कोसिस गरेको थियो । अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रकृयालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको छ । अदालतको यस आदेशले वाइवाईको नक्कल गरि बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने भएको छ । यदि बजारमा पठाइएका उक्त चाउचाउ यथावत रुपमा बिक्रीवितरण गरिएमा अदालतको मानहानी गरेको ठहरिनेछ ।

अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरि चौधरी ग्रुपद्वारा उत्पादित वाइवाई नेपालका साथै विश्वभर छरिएका नेपालीको विगत चार दशकदेखि पहिलो रोजाईमा रहँदै आएको छ । यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याति कमाएको वाइवाईको लोकप्रियताको दुरुपयोग गर्ने नियतका साथ करेन्टले वाइवाईको ट्रेडमार्क नक्कल गरेको थियो । यसबाट उपभोक्ताको अधिकारमाथि समेत प्रत्यक्ष प्रहार गरिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update