ललितपुर, पुस १३ । बालकुमारी झडपमा मृत्यु भएका सुजन राउतलाई प्रहरीको गोली नलागेको किस्ट अस्पतालले जनाएको छ।
राउतलाई १२ः४० तिर अचेत अवस्थामा अस्पताल ल्याइएको र उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकले बताए ।
राउतको शरीरमा गोली लागेको देखिँदैन । छातीमा भने नीलडाम देखिएको छ । चिकित्सकहरूले तत्काल उनलाई करिब ४५ मिनेट सीपीआर दिएको भए पनि बिउँताउन नसकिएको उनले बताएका छन् । पोस्टमार्टमबाट मात्र मृत्युको कारण खुल्ने उनले बताए ।
यस्तै, दुई जनाको मृत्यु भएको बालकुमारीको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।