चितवन, पुस १४ । चितवनको सौराहामा चलिरहेको ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’ आज सकिँदैछ ।
महोत्सवको चौथो दिन हिजो भव्य कार्यक्रमका बीच हात्तीलाई वनभोज खुवाइएको छ । सौराहा क्षेत्रमा पालिएका सरकारी तथा निजी हात्तीहरूलाई विभिन्न फलफूल सहित खीर, केक र मनपर्ने घाँस दिएर वनभोज खुवाइएको हो ।
हात्तीलाई चामल र भेलीको खीर, केक सहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफ्रुट, स्याउ, केरा, खरबुजा लगायतका फलफूल दिइएको थियो । क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा गएको १० गतेदेखि शुरु ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’ आज सकिँदैछ ।
महोत्सव अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकको घुुइँचो हुने गरेको आयोजकले जनाएको छ । अङ्ग्रेजी नयाँ वर्षमा यहाँ आएका पर्यटकहरू स्वदेश फर्किने सम्भावनालाई मध्यनजर गरी पर्यटन व्यवसायीहरूले सौराहामा हरेक वर्ष महोत्सव आयोजना गर्दै आएका छन् । कोरोना पछि लगातार ३ वर्ष रोकिएको यो कार्यक्रम यसपाली फेरि भएको हो ।