Kath khabar
गुरुङ समुदायले आज ‘तमु ल्होसार’ मनाउँदै, देशभर सार्वजनिक बिदा

                     

                          काठमाडौं, पुस १५ । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् ।

यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायको विशेष पर्व तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।  

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update