काठमाडौं, पुस १५ । ठमेलमा ‘न्यु इयर इभ ठमेल सडक महोत्सव’ हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले विगतका वर्षहरुमा झै यस वर्ष पनि नयाँ वर्ष २०२४ को पूर्वसन्ध्यामा सडक महोत्सव गर्न लागिएको जनाएको छ ।
आज साँझ साढे ५ बजे सुरु हुने महोत्सवको उद्घाटन उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्ने ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए।
ठमेलको सबै क्षेत्रमा विभिन्न व्यवसायीहरुले आफ्ना वस्तु तथा सेवाको प्रवर्द्धन गरी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षक गन्तव्यको रुपमा परिचित गराउने अभियानमा जुट्न उनले आग्रह गरे।
उक्त महोत्सवमा पर्यटकको सुरक्षाका लागि ठमेलका चौबिसै घण्टा सामुहिक अनुगमन टोली चलाउने तथा ठमेलका गल्लीमा सिसि क्यामेरा जडान गरिएको उनले जानकारी दिए ।
कार्यक्रम यस वर्ष विगतमा भन्दा फरक हुनेछ । ३ बजेबाट नै विभिन्न ठाउँबाट लाखे नाच, धिमे बाजा, पञ्चेबाजा गरी विभिन्न प्रकृतिका सांस्कृतिका कार्यक्रम शुरु गर्दै सञ्चयकोषमा आएर ५ बजे सामुहिक रुपमा ती कार्यक्रमहरु हुनेछन् ।
शर्माले गत वर्ष १ लाख ३० हजार स्वदेशी तथा विदेशी पर्यटकहरुले नयाँ वर्षमा आगमन भएको र यस वर्षमा पनि एक लाख ८० हजार पर्यटक आउने अपेक्षा रहेको बताए ।