Kath khabar
बालकुमारी घटना : ८ बुँदे माग पूरा नगरेसम्म मृतकका आफन्तले शव नबुझ्ने


                     काठमाडौं, पुस १५ । शुक्रवार ललितपुरको बालकुमारीमा भएको ईपीएसको प्रदर्शनका क्रममा मारिएका दुई जनाको परिवारले शव नबुझ्ने भएका छन् ।  

मृतकका परिवारहरुले राखेको ८ बुँदे माग पूरा नगरेसम्म शव नबुझ्ने मृतकका परिवारहरुले बताएका हुन् ।  घटनाका पीडित परिवारजनले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार गरेको भेटमा सरकारसमक्ष ८ बुँदे माग राखेका थिए । पीडित परिवारका आफन्तजनले गृह मन्त्रालयले बनाएको छानबिन समितिमाथि विश्वास नभएको भन्दै स्वतन्त्र छानबिन समिति बनाउनुपर्ने, शहीद घोषणा गर्नुपर्ने लगायतका माग राखेका छन् ।

प्रधानमन्त्री दाहालले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारले ज्यान गुमाएका रावत र शाहका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा अछाम चौरपाटी गाउँपालिका-१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका-६ का सुजन राउतको मृत्यु भएको थियो । मृतकहरुको शव किष्ट अस्पताल र पाटन अस्पतालमा राखिएको छ ।

 

 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update