जापान, पुस १६ । मध्य जापानमा शक्तिशाली भूकम्प गएको छ। जापान सागरको तटीय क्षेत्र मध्य जापानको इशिकावा प्रिफेक्चरमा ७.४ म्याग्निच्युड शक्तिशाली भूकम्प गएको हो ।
भूकम्पपछि त्यहाँ सुनामी आउने चेतावनी जारी गरिएको छ। भूकम्पको क्षतिको विवरण तत्काल उपलब्ध हुन सकेको छैन। जापानको मौसम विज्ञान एजेन्सीले पश्चिमी क्षेत्रहरूमा शक्तिशाली भूकम्पको श्रृङ्खला पछि इशिकावा, निगाटा र तोयामा प्रान्तहरूको तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरेको छ। ५ मिटरसम्म अग्ला छालहरू आउन सक्ने चेतावनी जारी भएको जापानको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ ।
एनएचकेका अनुसार इशिकावा प्रिफेक्चरको नोटो प्रायद्वीपको तटमा ५ मिटर (१५ फिट) सम्मका छालहरू आउने अनुमान गरिएको छ। नयाँ वर्षको दिन गएको भूकम्पको धक्का टोकियो र कान्टो क्षेत्रमा महसुस गरिएको थियो ।