काठमाडौं, पुस १७ । गत शुक्रबार ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीसँगको झडपमा ज्यान गुमाएका मृत्यु भएका व्यक्तिका परिवार र सरकारबीच चार बुँदे सहमति भएको छ ।
गृहमन्त्रालयका प्रतिनिधिबीच सोमबार भएको छलफलपछि सरकार र पीडित पक्षबीच मृतकका परिवारका १/१ जना सदस्यलाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने सहमति भएको हो ।
दुई पक्षबीच सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने, मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने, मृतकका परिवारले आजै शव बुझिलिने र शव सम्बन्धित जिल्लामा पुर्याउन गृह मन्त्रालयले पहल गर्ने सहमति भएको छ ।
कोरिया भाषा परीक्षा विवादमा प्रदर्शनमा उत्रिएका युवामाथि उक्त घटनामा प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
यस्तो छ सहमति
१) मृतकका परिवारलाई परिवारका सदस्यहरूसँगको सल्लाहमा परिवारका १/१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने ।
२) सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने ।
३) मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारवाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशिघ्र अनुरोध गर्ने ।
४) मृतकका परिवारले शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने ।