काठमाडौं, पुस १७ । जापानमा सोमबार आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । मध्य जापानको नोटो प्रायद्वीप र आसपासका क्षेत्रहरूमा गएको शक्तिशाली भूकम्पमा कम्तिमा २४ व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो ।
सोमबारदेखि करिब १८ घण्टामा १ सय ५५ वटा भूकम्प गएको जापानमा मानिसहरु ठूलो त्रासमा छन् । सबैभन्दा शक्तिशाली भूकम्प इशिकावामा महशुस गरिएको थियो, जसमध्ये एउटाको तीव्रता ७.६ र अर्कोको ६ भन्दा बढी थियो।
मंगलबार जापान मौसम विज्ञान कार्यालयले जानकारी दिँदै सोमबार (स्थानीय समय) साँझ ४ बजेपछि आएका अधिकांश भूकम्पको तीव्रता ३ रेक्टर स्केलभन्दा बढी रहेको जनाएको छ । यी भूकम्पको तीव्रता क्रमशः कम भएपनि मंगलबार पनि कम्तीमा ६ वटा ठूला धक्का महसुस गरिएको छ ।
समाचार एजेन्सी एएफपीको एक रिपोर्ट अनुसार जापानले सुनामीका सबै चेतावनी हटाएको छ। भूकम्पका कारण धेरै घरमा क्षति पुगेको छ भने धेरै ठाउँमा ठूलो आगलागी हुँदा ठूलो धनजनको क्षति भएको छ । सोमबारको भूकम्पबाट भएको क्षतिको विवरण अधिकारीहरूले अझैं संकलन गरिरहेका छन् ।