ललितपुर, पुस १७ । बालकुमारीमा भएको प्रदर्शनमा मृत्यु भएका सुजन राउत र वीरेन्द्र शाहको शव आज सुर्खेत लगिएको छ ।
दुवैजनाको शव पोष्टमार्टमपछि नेपाली सेनाको स्काई ट्रक मार्फत सुर्खेत पठाइएको हो । गृह जिल्लामा पठाउनको लागि उनीहरूको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेत लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । सुर्खेतबाट छुट्टाछुट्टै हेलिकप्टरमा राखेर शव उनीहरुको घर पुर्याइने उनले बताए।
उनीहरु दुवैको पाटन अस्पतालमा पोष्टमार्टम गरिएको हो । सुजनको छातिमा निलडाम भेटिएको छ । उनको भाग दौडमा क्रममा मृत्यु भएको हुनसक्ने सुरक्षा अधिकारीहरू बताउँछन् । अछामका वीरेन्द्र शाहको पेटमा गोली लागेको छ । शाहलाई प्रहरीको सेल्फ लोडिङ् राइफलको गोली लागेको पुष्टि भएको छ । सोमबार सरकार र मृतकका परिवारबीच सहमति भएपछि मृतकका आफन्तले शव बुझेका हुन् ।
विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका मृतक परिवारले सोमबार सरकारसँग भएको छलफलमा चार बुँदे सहमति भएपछि शव बुझेका हुन् । दुई पक्षबीच सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने, मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने, मृतकका परिवारले आजै शव बुझिलिने र शव सम्बन्धित जिल्लामा पुर्याउन गृह मन्त्रालयले पहल गर्ने लगायतका सहमति भएको थियो।