काठमाडौं, पुस १८ । हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो लागेकोले ढिला घाम लाग्ने मौसमविदहरुले बताएका छन् । नेपालको मौसममा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पानी पर्ने प्रणालीको विकास अझै नभएकाले केही दिन पानी नपर्ने मौसमविद्ले बताए ।
दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, राती कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।