काठमाडौं, पुस १० । भारतीय विदेश मन्त्री एस जयशंकर काठमाडौँमा आइपुगेका छन् । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर काठमाडौं आइपुगेका हुन् ।
भारतीय वायु सेवाको विशेष विमानमार्फत् काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल, भारतीय राजदूत नवीन श्रीवास्तव लगायतले स्वागत गरेका छन् ।
जयशंकरले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम छ ।
बिहीबार दिउँसो होटल याक एन्ड यतीमा हुने ‘संयुक्त आयोगको बैठक’ मा उनी सहभागी हुनेछन् । त्यहा दुई पक्षबीच माइन्युट आदानप्रदान तथा केही सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला भारतसँग भएको विद्युत् व्यापार सम्झौताका विषयमा बैठकमा हस्ताक्षर हुनेछ । १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी नेपाल भारतबीच बिहीबार सम्झौता हुने स्रोतले जनाएको छ । त्यसैगरी १३२ केभीएका तीनवटा प्रसारण लाइनको उद्घाटन गर्ने तयारी भएको छ ।
यो बैठक अघि जयशंकरले राष्ट्रपति र प्रधानमन्त्री तथा बैठकपछि देउवा र ओलीलाई भेट्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयले सोल्टी होटलमा साँझ ६ः१५ बजे रात्रि भोजको आयोजना गर्नेछ । सो रात्रि भोजमा मन्त्री जयशंकर लगायत नेपालका नेता, सांसद र सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ ।
नयाँ वर्षको पहिलो भ्रमण नेपालको गर्न पाउँदा आफू हर्षित भएको जयशंकरले बताएका छन् । "सन् २०२४ को मेरो पहिलो भ्रमणको रुपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु, आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका लागि उत्साहित छु।’ उनले ट्वीट गर्दै भनेका छन् ।