काठमाडौं, पुस १९ । नेपाल क्रिकेट संघ (क्यान) ले पुस २५ गतेपछि मात्र सन्दीप लामिछानेबारे औपचारिक निर्णय गर्ने बताएको छ ।
क्यानका सचिव पारस खड्काले सन्दीप लामिछानेको मुद्दाका विषयमा अदालतमा पेसी तोकिएकाले पुस २५ पछि मात्रै क्यानको धारणा सार्वजनिक गर्ने बताएका हुन् ।
सन्दीपलाई हुने कैद सजायपछि मात्र उनी राष्ट्रिय टीममा रहनेर/नरहनेबारे औपचारिक धारणा सार्वजनिक हुने खड्काले बताए । उनका अनुसार सन्दीपका वकिल र त्रिकेट संघका कानुन सल्लाहकारसँग कुराकानी भएको थियो । 'अदालतको आदेशपछि क्यानको कानुनी सल्लाहकारको सुझाव अनुसार सन्दीपको भविष्यलाई जोडेर क्यान कसरी अगाडि बढ्छ भनेर धारणा सार्वजनिक गर्छौं', उनले भने ।
जिल्ला अदालत काठमाडौंले लामिछानेलाई गत शुक्रबार दोषी ठहर गरेको थियो । उनको सजाय निर्धारण भने भइसकेको छैन । जिल्ला अदालतले पुस २५ गते सन्दीपमाथि हुने कैद सजाय सुनाउँदैछ ।