काठमाडौं, पुस २० । काठमाडौंमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । आज बिहानको काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो तापक्रम यो वर्षकै सबैभन्दा कम रहेको मौसमविदले बताएका छन् ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ ।
दिउसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, राती कोशी र मधेश प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।