Kath khabar
पेट्रोल पम्पहरुले ४५ दिनभित्र शौचालय सञ्चालनमा ल्याउनु पर्ने

 

                     काठमाडौं, पुस २० । अब काठमाडौं महानगरपालिका महानगरभित्र सञ्चालित पेट्रोल पम्पहरूले शौचालय सञ्चालन गर्नुपर्ने भएको छ ।

बिहिबार महानगरपालिकामा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, महानगर प्रहरी बलसहितको बैठकले महानगरभित्रका पेट्रोल पम्पहरुमा शौचालय सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकले, महानगरपालिकाभित्र सञ्चालनमा रहेका पेट्रोल पम्पहरुको अध्ययन गर्न महानगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा नेपाल आयल निगम, उपत्यका ट्राफिक प्रहरी कार्यालय, सडक विभाग, जिल्ला प्रशासन कार्यालय, पेट्रोलियम डिलर्स एशोसिएसन र रिपुमर्दिनी पेट्रोल पम्प भद्रकालीका प्रतिनिधि रहेका छन्।

समितिलाई पेट्रोल पम्पहरुको निरीक्षण गरेर तत्काल सुधार गर्नु पर्ने काम र निश्चित अवधिमा सुधार गर्नुपर्ने कामको अध्ययन गरेर ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ ।    

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update