Kath khabar
पशुपतिनाथको मन्दिरमा आरतीको भिडियो खिच्न नपाउने सूचना प्रति कोषको आपत्ति

 

                  काठमाडौं, पुस २० । पशुपति क्षेत्र विकास कोषले शुक्रवार एक सूचना प्रकाशित गर्दै पशुपतिनाथको मन्दिरमा आरतीको भिडियो खिच्न नपाउने सूचना जारी गरिएकोप्रति कोषको संलग्नता नभएको दावी गरेको छ ।

बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने, भिडियो खिचेर सामाजिक सञ्जालमा राखे कपिराइट ऐन अन्तर्गत कारवाही गर्ने भनी बिहिबार सूचना प्रकाशन गरेको थियो । उक्त सूचनाप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको  हो ।

विकास कोष सञ्चालक परिषद्का कार्यकारी निर्देशक लक्ष्मी पुनले आज एक सूचना प्रकाशित  गरी बुढासुब्बा डिजिटल प्रालीद्वारा प्रकाशित उक्त सूचनामा कोषको गम्भीर ध्यानाकर्षण भएको बताए ।

कोषद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ - “बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ । यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रायोजनका लागि राखिएमा डिजिटल कपिराइट ऐनअन्तर्गत कारबाही हुने जानकारी गराउदछौँ भन्ने सूचनामा विकास कोषको गम्भीर ध्यानाकर्षण भएको र उक्त सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नामसमेत राखी सूचना प्रकाशित भएकामा कोषको असहमति रहेको छ । उक्त सूचना प्रकाशितप्रति कोषको कुनै पनि संलग्नता नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउदछौँ” ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update