Kath khabar
पृथ्वीजयन्तीको अवसरमा राप्रपाले चियापान कार्यक्रम आयोजना गर्ने

 

                       काठमाडौं, पुस २३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

राप्रपाले यही पुस २७ गते ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चियापानका लागि राजनीतिक दलका नेता तथा सांसदलाई निमन्त्रणा गरेका छन् ।

उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी लगायतलाई निमन्त्रणा गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनले विभिन्न राज्यलाई एकीकृत गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेका राष्ट्र निर्माताको सम्मानमा हुने चियापान समारोहमा राष्ट्रपति, प्रधानमन्त्री सहभागी हुनुहुने जानकारी दिनुभयो । सोही दिन सो पार्टी केन्द्रले सिंहदरबारस्थित शालिकमा माल्यार्पण कार्यक्रम गर्नेछ ।

उनका अनुसार पार्टीले सोही दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा केन्द्र, प्रदेश र स्थानीय तीनै तहमा पृथ्वीनारायण शाहको व्यक्तित्व तथा इतिहास झल्काउने गरी सभा गोष्ठी, शुभकामना आदानप्रदान तथा चियापान समारोह, अन्तर्क्रिया, दीपावलीलगायत कार्यक्रम गरी उत्सवका रुपमा मनाउन पार्टी मातहतका सबैलाई पत्राचार गरिएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार सोही दिन ‘पृथ्वीनारायण’ शीर्षकमा कविता लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरी पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः रु एक लाख रु ५० हजार र रु २५ हजार तथा सान्त्वना विजेता तीन जनालाई प्रतिव्यक्ति रु १० हजार पुरस्कार प्रदान गरिनेछ ।

पृथ्वी जयन्ती दिवसका रुपमा देशभर मनाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा मूल समारोह समितिसमेत गठन गरिएको छ । 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update