काठमाडौं, पुस २४ । राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिनेछ । हिजो मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको हो ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।
पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रियसभामा ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ छ, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ आठ, र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।