काठमाडौं, पुस २४ । काठमाडौं महानगरपालिका–२१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानहरूबाट ४७ किलो अवैध चाँदीका विभिन्न गरगहनाहरूसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बारा कैलया नगरपालिका–१० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगन्ज महानगरपालिका–३ का ३२ वर्षीय सुमन कुमार सर्राफ र बारा विश्रामपुर गाउँपालिका–५ का २० वर्षीय मनिष सर्राफ रहेका छन् ।
भोटेबहाल, कोटेश्वर लगायतका विभिन्न ठाउँमा राजश्व छली गरि बिल–बिजक बिना चाँदीका गरगहनाहरु भण्डार गरी बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई राजस्व छली सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।