काठमाडौं, पुस २४ । दक्षिण कोरियाको संसदले कुकुरको मासु खाने शताब्दीयौं पुरानो परम्परागत चलनको अन्त्य गर्ने भएको छ । मंगलबारको राष्ट्रियसभाले यो विधेयक २०८ मतले पारित गरेको हो । यो कदमलाई औपचारिकता मानिन्छ किनभने युनको सरकारले यो प्रतिबन्धलाई समर्थन गर्दछ।
सत्तारुढ दलले पारित गरेको यो विधेयकले दुई दलको समर्थन पाएको छ । अब यो विधेयक अन्तिम स्वीकृतिका लागि राष्ट्रपति युन सुक येओलसमक्ष जानेछ। यो विधेयकलाई प्रथम महिला किम केओनले पनि समर्थन गरेका छन् । उनले गत डिसेम्बरमा नेदरल्याण्डको राज्य भ्रमणका क्रममा ६ कुकुर र ८ बिराला पालेका थिए ।
कानुनअनुसार खानाको लागि कुकुर मार्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा २३ हजार डलरसम्म जरिवाना हुन सक्छ। यसबाहेक खानाका लागि कुकुर पाल्ने वा जानीजानी कुकुरको मासुबाट बनेको खानेकुरा खाने, ओसारपसार गर्ने, भण्डारण गर्ने वा बेच्नेलाई पनि जेल र जरिवाना हुनेछ । संसदीय समितिका अनुसार कुकुरको मासुबाट बनेका खाद्यवस्तु तथा अन्य वस्तुको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ । तर, कानूनले ग्राहकलाई सजायको व्यवस्था गरेको छैन। अर्थात् कुकुरको मासु खानेलाई कानुन लागु हुँदैन । ठूला उद्योग, कुकुर पाल्ने र बिक्रेता कानुनको दायरामा आउनेछन् ।
संसदीय समितिले कुकुरको मासुबाट खाद्यवस्तु बनाउने फार्म सञ्चालक, रेष्टुरेन्ट सञ्चालक र यससँग सम्बन्धित वस्तुको कारोबार गर्नेलाई पनि व्यवसाय परिवर्तन गर्न तीन वर्षसम्म छुट दिने व्यवस्था गरेको छ । त्यस्ता व्यवसायीलाई अन्य व्यवसाय गर्न पनि सरकारले सहयोग गर्नेछ । कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयका अनुसार दक्षिण कोरियामा खाद्यान्नका लागि करिब १ हजार १ सय कुकुर फार्म सञ्चालित छन् र ती फार्ममा करिब ५ लाख कुकुर पालिरहेका छन् । हालका दशकहरूमा यो अभ्यास पनि आलोचनामा आएको छ, जसमा पशु प्रेमी कार्यकर्ताहरू प्रमुख छन् ।
ह्युमन सोसाइटी इन्टरनेशनल (एचएसआई) जस्ता अन्तर्राष्ट्रिय समूहहरूले पनि दक्षिण कोरियाली कुकुरहरूलाई बचाउन र तिनीहरूलाई विदेशमा स्थानान्तरण गर्न काम गरेका छन् । यसपछि दक्षिण कोरियामा कुकुरको मासु खानेको संख्यामा पनि उल्लेख्य गिरावट आएको छ । युवाहरू र शहरी मानिसहरू यसबाट टाढा गए । वृद्धवृद्धाहरू मात्र यसको ग्राहक बने । यस सम्बन्धमा कोरियामा पनि सर्वेक्षण गरिएको थियो । ६४ प्रतिशत जनता कुकुरको मासु खाने विपक्षमा रहेको खुलेको छ । आधिकारिक तथ्याङ्कका अनुसार राजधानी सियोलमा कुकुरको मासु खुवाउने रेष्टुरेन्टहरूको संख्या घट्दो मागका कारण २००५ देखि २०१४ को बीचमा ४० प्रतिशतले घटेको छ।
भियतनाम र दक्षिण चीनका केही भागहरू जस्तै दक्षिण कोरियामा पनि कुकुरको मासु खाने इतिहास छ । यो दक्षिण कोरियाको परम्परागत खाना हो ।