काठमाडौं, पुस २४ । लामो समयदेखि प्रहरीको खोजीमा रहेका तपस्वी राम बहादुर बम्जनलाई सीआईबीले पक्राउ गरेको छ ।
आफूलाई लिटिल बुद्ध भनेर चिनाउने विवादित धर्मगुरु बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले काठमाडौंस्थित बुढानीलकण्ठको एक घरबाट आज साँझ ७ बजे पक्राउ गरेको हो ।
बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि २०७७ साल माघमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोली उनको आश्रममा पक्राउ गर्न पुगेको थियो । तर उनी फरार रहेका थिए ।
बम्जन बुढानिलकण्ठमा बस्दै आएका आफ्ना परिवारलाई भेट्न आउँदा पक्राउ परेको बताइएको छ । उनको श्रीमती र छोराछोरी बुढानिलकण्ठस्थित हात्तीगौडामा बस्दै आएका थिए । स्रोतका अनुसार प्रहरी आएको थाहा पाएपछि उनी भाग्न पनि खोजेका थिए ।
आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको उजुरीपछि सीआईबी, कोशी प्रदेश र मधेश प्रदेश प्रहरीले समेत उनको खोजी गरिरहेको थियो ।