काठमाडौं, पुस २५ । बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीप लामिछानेको सजाय आज तोकिँदैछ । काठमाडौं जिल्ला अदालतले आज उनीमाथि कैद, जरिवाना र क्षतिपूर्ति तोक्नेछ ।
यसअघि पुस १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको फैसलामा उल्लेख गरिएको छ ।
अदालतले घटना हुँदा गौशाला २६ को उमेर १८ वर्ष पूरा भइसकेको भए पनि लामिछानेले जबरजस्ती करणी गरेको भन्दै दोषी ठहर गरेको हो । सहमतिमा करणी भएको नदेखिएकाले लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१,२ र ३) (ङ) बमोजिम कसुर गरेको अदालतको ठहर छ । यस उपदफा ३ (ङ) मा १८ वर्ष वा सोभन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्षसम्म कैद सजाय हुन सक्ने उल्लेख छ ।