Kath khabar
बमजन तथा उनको घरबाट बरामद भएको नगद तथा सामानहरु प्रहरीद्धारा सार्वजनिक

 

                   काठमाडौं, पुस २५ । मंगलबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका रामबहादुर बमजनलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै बमजन पक्राउ परेकोबारे साथै उनको घरबाट बरामद भएको पैसा, मोबाइल, ल्यापटप र महत्त्वपूर्ण कागजातहरु पनि सार्वजनिक गरेको हो ।

प्रहरीकाअनुसार पछिल्लो दुई महिनादेखि उनी बूढानीलकण्ठस्थित घरमा बस्दै आएका थिए । बमजन बसेको घरमा खानतलासी गर्दा तीन करोड तीन लाख ७५ हजार रुपैयाँ नगद, १४ वटा विभिन्न ब्रान्डका मोबाइल, दुईवटा ल्यापटप, विभिन्न ब्रान्डका पेनड्राइभ २० वटा, भ्वाइस रेकर्डर, आइप्याड र पाँचवटा ट्याब फेला परेको थियो ।

यो सँगै, तुलाराम तामाङको नाममा रहेको टोयोटा फर्च्युनर गाडी उनी चढ्ने गरेको पाइएको छ भने सेतो रंगको ल्यान्ड क्रुजर जेड एक्स गाडी पाँच करोडमा बुक गरिएको र तीन करोड नगदै भुक्तानी गरिएको पनि पाइएको प्रहरीले जनाएको छ । साथै ३९० सिसीको केटिएम ड्युक, क्रस फायर मोटरसाइकल, यामाहा रेजेडआर स्कुटर तथा टोयोटा हाइलक्स गाडीको चाबी पनि प्रहरीले बरामद गरेको छ । यसको स्रोतबारे अनुसन्धान गर्ने सीआईबीले जनाएको छ ।

बमजनको बचाउ गर्न आज पूर्वभूमिसुधार राज्यमन्त्री यशोदा लामा महाराजगञ्जस्थित सीआईबी कार्यालय पुगेकी थिइन् । उनले प्रहरीलाई हत्कडी नलगाउन समेत आग्रह गरेकी थिइन् । उनीसँगै बमजनलाई भेट्न बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालयमा पुगेका थिए ।

जिल्ला प्रहरीले कार्यालय सर्लाहीले २०७६ माघ २४ गते बमजनलाई पक्राउ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको थियो । उनीमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोपमा प्रहरीले खोजिरहेको छ । सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा उनीविरुद्ध मुद्दा दर्ता छ ।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार  बमजनलाई पक्राउ गर्न ‘अपरेशन ब्लु’ अभियान चलाइएको थियो । प्रहरीले बमजनलाई आज नै सर्लाही लैजाने तयारी गरेको छ ।

 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update