काठमाडौं, पुस २६ । बलात्कार मुद्दामा दोषी ठहर भएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट एसोसिएसन नेपाल (क्यान) ले सबै खेलबाट निलम्बन गरेको छ । क्यानले एक विज्ञप्ति जारी गर्दै घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको जनाएको छ ।
“राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतकै आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौँ।” क्यानको प्रेस विज्ञप्तिमा भनिएको छ ।
यसअघि लामिछानेले राष्ट्रिय क्रिकेट टिमबाट अलग भएको घोषणा गरेका थिए । बुधबार उनले नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई एक पत्र लेख्दै यसबारे जानकारी गराएका थिए । लामिछानेले जिल्लाको फैसलाविरुद्ध पुनरावेदन जाने र त्यहाँबाट निर्दोष भएको खण्डमा पुनः क्रिकेटमा फर्किने बाचा पनि गरेका छन् ।
बुधबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई बलत्कार मुद्दामा ८ वर्ष जेल र ५ लाख जरिवाना सुनाएको हो । यसअघि जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले लामिछानेलाई पुस १३ गते बलत्कारी ठहर गरेको थियो।