काठमाडौं, पुस २६ । राष्ट्रिय स्वतन्त्र पार्टीले गौशाला २६ को पहिचान खुलाएको भन्दै एक कार्यकर्तालाई निलम्बन गरेको छ ।
सामाजिक सञ्जालमा गौशाला २६ भन्दै युवतीको तस्बिर सार्वजनिक गर्ने रास्वपा चितवनका कार्यकर्ता दिवस सापकोटालाई रास्वपाले निलम्बन गरेको हो ।
बिहीबार दिउँसो एक सूचना जारी गर्दै रास्वपाले उनलाई निलम्बन गरेको जानकारी गराएको छ। सापकोटा रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिको सदस्य रहेको रास्वपाको भनाइ छ।
सूचनामा भनिएको छ - "सामाजिक सञ्जाल प्रयोगमा संवेदनशिल नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौं। सापकोटाले गौशला-२६ (परिवर्तित नाम)को तस्वीर सामाजिक सञ्जाल एक्स (X) मा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेका थिए।"
गौशाला २६ ले दिइन् साइबर ब्यूरोमा उजुरी
यता सामाजिक सञ्जालमा आफ्नो पहिचान खुलाउन खोज्नेविरूद्ध गौशाला २६ ले साइबर ब्यूरोमा उजुरी दिएकी छिन् । गोपनियाताको भंग गर्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक हुन थालेपछि उनले ब्यूरोमा उजुरी दिएकी हुन् ।
गौशाला २६ ले वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर (मुलुकी अपराध संहिता, २०७४) को दफा २९४, दफा २९८ समेत र कम्प्युटर सम्बन्धी कसुर विद्युतीय ‘इलेक्ट्रोनिक’ कारोबार ऐन, २०६३ को दफा ४७ समेत बमोजिम कसुर भएको भन्दै जाहेरी दिएकी हुन्। गौशालाको उजुरीपछि साइबर ब्यूरोले पनि आवश्क छानबिन थालेको छ ।