चितवन, पुस २६ । नारायणगढ–मुग्लिन सडक माघ २० गतेसम्म दैनिक ४ घण्टा बन्द गरिने भएको छ । गएको पुस ७ गतेदेखि दैनिक ४ घण्टा सडक बन्द गरी काम थालिएकोमा थप तीन हप्ता बन्द गरिने भएको हो ।
तुइन खोलामा पुल बनाउन पहाड काट्ने कामको लागि पुस ७ गतेदेखि २८ गतेसम्म तीन हप्ताका लागि सडक बन्द गरेर काम थालिएको थियो । काम नसकिएपछि थपिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वपक्षीय बैठकले थप तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने निर्णय गरेको हो । निर्णयअनुसार माघे सङ्क्रान्तिको दिन माघ एक गते सडक बन्द हुने छैन । माघे सङ्क्रान्ति पर्वमा प्रसिद्ध धार्मिकस्थल देवघाट नुहाउन, दर्शन गर्न आउने भक्तजनहरुको सुविधाका लागि सडक बन्द नहुने आयोजनाले जनाएको छ ।