Kath khabar
४ हजार व्यक्तिलाई साइबर सेक्युरिटी विषयमा तालिम दिँदै काठमाडौं महानगरपालिका

 

                      काठमाडौं, पुस २९ । काठमाडौं महानगरपालिकाले ४ हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम दिने भएको छ ।

‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य छ। लक्ष्यमा सहयोग पुर्‍याउन इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्य गर्न लागिएको हो । माघ २ गते यसको औपचारिक शुभारम्भ हुनेछ ।

काउन्सिल, साइबर सुरक्षा प्रमाणपत्र र तालिममा विश्वव्यापी अग्रणी र प्रमाणित नैतिक ह्याकर क्रेडेन्सियलको आविष्कार हो । यो सहकार्यबाट ५ करोड रुपैयाँको छात्रवृत्ति प्रदान हुनेछ । साइवर सुरक्षा सिप रोजगारमूलक शिक्षा हो । यसले व्यक्तिलाई सम्भावित साइवर अपराधबाट बचाउँछ भने सिपबाट रोजगार क्षेत्रमा आवद्ध हुन सकिन्छ । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्नुहुन्छ, ‘साइबर सुरक्षाका लागि काम गर्न इच्छुक विद्यार्थी र पेशाकर्मीहरुलाई तालिममा साइबर जोखिमबाट बचाउने ज्ञान र सिप प्रदान गरिनेछ ।’

गएको बर्ष नेपालमा ५९ प्रतिशतले साइबर अपराध बढेको प्रतिवेदनहरुले देखाएका छन् । यसप्रकारका अपराध नियन्त्रण गर्न बलियो र दक्ष साइबर सुरक्षाका लागि तालिमले योगदान दिनेछ । झाका अनुसार इन्टरनेटमा व्यक्तिको पहुँच बढे जत्तिकै साइबर सुरक्षाको चुनौती पनि बढेको छ । स्मार्ट फोन चलाउने सर्वसाधारणमा पनि इन्टरनेटमा आधारित सुरक्षा चाहिएको छ । तर, अहिलेसम्म व्यक्तिमा यो सचेतना आइसकेको छैन । उहाँ भन्नुहुन्छ, ‘व्यक्तिका व्यक्तिगत सूचनाहरु थाहा नपाइ अरुले दुरुपयोग गरिरहेको हुन सक्छ । कहिलेकाहीँ सरकारको प्रणालीमा पनि समस्या आउने गरेको सुनिन्छ । इन्टरनेटमा आधारित जोखिमबाट नागरिकलाई बचाउन अहिले काम गर्नु पर्नेछ । हामीले यसको थालनी गरेका हौँ ।’

माघ २ गते दिनको २ बजेदेखि राष्ट्रिय सभा गृहमा आयोजना हुने शुभारम्भ अवसरमा उपस्थित हुन चाहनेहरुले तलको लिङ्क थिचेर नाम दर्ता गराउन सक्नुहुनेछ । करिब २ मिनेटको समयमा फारम भर्न सकिनेछ । कार्यक्रमका फोकल पर्सन शान्ता पहाडीका अनुसार अहिले सफ्टवेयर डिभलपमेन्ट, व्युटिसियन, डिजिटल मार्केटिङ्, र प्रफेसनल एकाउन्टिङ्का तालिम सुरु भइसकेका छन् । ‘हामीले विभिन्न ३४ विधामा तालिम दिँदैछौँ । आवश्यकता र मागका आधारमा तालिमका अन्य विधा थप गर्नेछौँ । साइबर सेक्युरिटी तालिमले १५ हजार व्यक्तिलाई तालिम दिने लक्ष्यमा योगदान दिनेछ ।’ पहाडीको भनाइ छ ।      

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update