काठमाडौं, पुस २९ । चौधरी ग्रुपले आर्थिक वर्ष २०७९/०८० मा सरकारलाई १६ अर्ब १४ करोड रुपैयाँ कर तिरेको छ ।
यो सरकारको कुल राजश्वमा १ दशमलब ८७ प्रतिशतको योगदान हो । चौधरी ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको हाम्रो अनुमान छ ।
आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको समयमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको छ । अर्थतन्त्रमा आएको संकुचनका कारण सरकारले लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको पृष्ठभूमिमा चौधरी ग्रुपको योगदान भने उच्च रहेको छ । यद्यपि, राष्ट्रिय अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यवसायिक कारोबारमा परेको असरका कारण अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चौधरी ग्रुपको राजश्व योगदानमा केही कमी आएको छ । उक्त आर्थिक वर्षमा ग्रुपले १७ अर्ब ७२ करोड रुपैयाँ कर तिरेको थियो ।
‘देशको समग्र अर्थतन्त्र मन्दीबाट गुज्रिरहँदा र सरकारको कुल राजश्व संकुचित बनेको समयमा पनि चौधरी ग्रुपले उच्च कर तिर्न सक्षम भएको तथ्यले हामीलाई उत्साहित बनाएको छ । राष्ट्रिय अर्थतन्त्रको विस्तार र राष्ट्रका विकास निर्माणका परियोजनामा उल्लेख्य योगदान गर्न पाउँदा हामीलाई सन्तोष लागेको छ’, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भन्नुभयो, ‘हामीले नेपालमा द्रुत गतिमा लगानी विस्तार गरिरहेका छौँ र त्यसबाट राष्ट्रिय अर्थतन्त्रमा अर्थपूर्ण योगदान पुग्नेछ भन्नेमा हाम्रो विश्वास छ ।’ अध्यक्ष चौधरीले नेपालमा लगानीको वातावरणमा सुधार गरि लगानीकर्तालाई प्रोत्साहित गरेर मात्रै राजश्वको दायरा फराकिलो बनाउँदै लैजान सम्भव हुने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने र यस्तो सोचबाट राजश्वको अपेक्षित वृद्धिदर हासिल भई हाम्रा राष्ट्रिय विकासका लक्ष्य प्राप्त गर्न सम्भव हुनेमा पनि जोड दिनु भएको छ ।
गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७५/७६ मा ११ अर्ब ६७ करोड, २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड र २०७९/८० मा १६ अर्ब १४ करोड कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ ।
‘चौधरी ग्रुपले नेपाललाई मुख्य प्राथमिकतामा राखेर लगानी विस्तार गरिरहेको छ । खाद्य एवं पेय पदार्थ, हस्पिटालिटी, वित्तिय क्षेत्र, अटोमोबाईल्स, शिक्षा, पूर्वाधार एवं न्यु टेक्नोलोजीसम्ममा हामीले तीब्र गतिमा लगानी विस्तार गरिरहेका छौँ । नेपालको समग्र अर्थतन्त्रमा हामी प्रभावकारी योगदान पुर्याउन चाहन्छौँ’, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भन्नुभयो, ‘हाम्रो ग्रुप एकसय ५० वर्षदेखि नेपालको अर्थतन्त्रको विकासमा सक्रिय छ । र, हामी नेपालका सातै प्रदेशहरूमा लगानी विस्तार गरिरहेका छौँ । यसबाट देशको समावेशी विकासमा योगदान पुग्नेछ भन्ने हाम्रो विश्वास छ ।’
नेपालमा व्यवसायिक ग्रुपहरूले सरकारको राजश्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुदाँ पनि चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजश्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको छ । करदाताको रुपमा व्यवसाय मार्फत भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना हुँदैन । यसले कतिपय अवस्थामा जनमानसमा भ्रम उत्पन्न भएको पनि देखिँदै आएको छ । यो दुबिधालाई अन्त्य गर्न र आफूले राजश्वमा गरेको योगदानलाई आम जनमानसबीच सार्वजनिक जानकारीमा ल्याउन जिम्मेवार व्यवसायिक ग्रुपको सामाजिक उत्तरदायित्वका हिसाबले चौधरी ग्रुपले प्रत्येक वर्ष पारदर्शिताका साथ यो विवरण प्रकाशित गर्ने गर्दछ ।
साथै, व्यवसायिक ग्रुपहरूबाट राष्ट्रिय अर्थतन्त्रमा पुर्याइएको योगदानको वास्तविक तथ्य आम जनमानससमक्ष राख्न सरकारी स्तरबाटै व्यवसायिक ग्रुपहरूले तिरेको करको गणना गर्ने र सार्वजनिक गर्ने व्यवस्था मिलाउनका लागि पनि हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराउदँछौँ ।
चौधरी ग्रुपको कर राजश्वमा योगदान (रु लाखमा)