Kath khabar
आज माघे संक्रान्ति पर्व मनाइँदै

 

                      काठमाडौं, माघ १ । आज माघे संक्रान्ति । आजको दिनलाई मकर संक्रान्ति र माघी पनि भनिन्छ ।

माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइन्छ । यस दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा भोलि विशेष मेलासमेत लाग्ने गर्छ ।

ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरे पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले विशेष महत्वपूर्ण मानिन्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । तथापि आजभोलि पुस ७ गतेबाटै दिन लम्बिन र रात छोटिन सुरु हुन्छ।

माघे–मकर संक्रान्तिको अवसरमा आज देशभरका नदी स्नान गरी मन्दिरमा पूजाआजा गरिन्छ । साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाउने गरिन्छ । भविष्य पुराण, विष्णु वचन तथा धर्म सिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोसिलो हुनुका साथै निरोगी हुने उल्लेख छ ।

जाडो मौसममा वातावरणको तापक्रम एकदमै कम हुने कारणले शरीरमा रोग व्याधीको सम्भावना बढी हुन्छ। यसैको रोकथामको प्रतिकात्मक कारण यस दिन तिल आदि परिकारले बनेको मिष्ठान्न तयार पारेर खाने गरिएको छ।

यसले शरीरलाई चिसो तथा चिसोका कारण शरीरमा लाग्ने रोगसित लड्ने क्षमताको विकास गर्न मद्दत गर्छ । त्यति मात्र होइन, चाकु, तथा सक्कर चिनीबाट बनेको नभई विभिन्न तत्वबाट बनाइने हुदाँ यसले शरीरमा विभिन्न खनिज पदार्थको रुपमा समेत काम गर्दछ ।

त्यस्तै, घिउ आफैमा अन स्याचुरेटेड फैटी एसिड भएकोल यसले शरीरमा बोसो जम्न दिदैन । बरु शरीरलाई आवश्यक पर्ने चिल्लोको प्रवाह गरी शरीरलाई बलियो बनाउन मद्दत गर्छ । यसमा गर्मी पैदा गर्ने तत्व हुने भएकोले बैज्ञानिक कारणले पनि यसलाई प्रचलनमा ल्याइएको हो। यसमा शरीरको लागि लाभदायक पोषक पदार्थ समेत पाईन्छ । उत्तर भारतमा यस दिन खिचडीको भोग दिइन्छ।

कन्दुमुलका नामले चिनिने तरुल तथा पिडालु रेशेदार खानेकुरा हो । यसले शरीरमा कैलोरी बढाउनुका साथै शरीरमा ताप पैदा गर्छ । साथै तरुल तथा पिडालुको सेवनले शरीरमा चिल्लो तथा बोसो जम्न दिदैन । माघे संक्रान्तिको परिकार काठमाडौं उपत्यकामा सख्खर पकाएर मसला हाली बनाइएको चाकु, उसिनेको तरुल, तिलको लड्डु पालुंगोको तरकारी लगायतका पदार्थ खाने चलन छ।

 

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update