काठमाडौं, माघ २ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागु हुँदैछ । निर्वाचन आयोगले आइतबार बसेको बैठकले माघ २ देखि १२ गतेसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।
‘निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा ९२० अनुसार माघ २ देखि माघ १२ गतेसम्म राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म आचार संहिताको दफा १ मा उल्लिखित सबै व्यक्ति, नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेका व्यक्तिलगायतलाई आचारसंहिता लागु हुने आयोगले जनाएको छ।
आचारसंहिता अनुसार कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन पाइने छैन । निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचना बिगार्न वा कुनै प्रकारले थपघट गर्न वा गराउन नहुने, सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने प्रवक्ता पौडेलले बताउनुभयो ।
यस्तै निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन नहुने, कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने आयोगले जनाएको छ ।
आचारसंहिता अनुसार बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने, सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण वा टिप्प्णी गर्न वा गराउन निषेध गरिएको छ ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा ५१ जना उम्मेदवार छन् । निर्वाचनमा भाग लिन १२ दलले आयोगमा दल दर्ता गराए पनि आठ राजनीतिक दलले उम्मेदवारी दिएका छन् ।