भक्तपुर, माघ ३ । २७ वर्षीया महिला बक्सिङ खेलाडी नीता गोसाई आफ्नै घरमा मृत भेटिएकी छिन् । मंगलबार साँझ भक्तपुर वडा नम्बर ८ स्थित आफ्नै घरको छतमा रहेको जस्ताको डन्डीमा पासो लागेको अवस्थामा उनी मृत भेटिएकी हुन् ।
परिवारका सदस्यले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रारम्भिक अनुसन्धानमा घटना आत्महत्या देखिएको भक्तपुर प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बलको तर्फबाट बक्सिङ खेल्ने गोसाईले नवौँ राष्ट्रिय खेलकुदमा ५४ केजी तौल समूहमा रजत पदक जितेकी थिइन् । उनी केहि समयपछि बिहे गर्ने तयारीमा थिइन् ।
गोसाइका परिवारले एक युवकविरुद्ध प्रहरीमा आत्महत्या दुरुत्साहन भन्दै जाहेरी दिएका छन् । युवकले नितालाई मानसिक यातना दिने गरेको जाहेरीमा उल्लेख गरिएको छ । प्रहरीले ती युवकलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।