काठमाडौं, माघ ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फिर्ता भएका छन् । चार दिन लामो युगान्डा भ्रमण सम्पन्न गरी उनी आज स्वदेश फर्किएका हुन् ।
युगान्डामा भएको असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी हुन माघ ४ गते युगान्डाको कम्पाला गएका प्रचण्ड अहिले बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गरेका हुन् ।
सम्मेलनमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने साथै उनले इजरायल-हमास द्वन्द्व रोकिनुपर्ने र शान्ति स्थापना हुनुपर्ने बताएका थिए ।
सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै रुसी सेनामा भर्ती भएका नेपाली युवालाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको दाबी गरेका छन् । नेपाल सरकारले चाहँदैमा रुसी सरकारले सहजरुपमा नेपाली युवालाई स्वदेश फर्काउन मान्दिने अवस्था नभएको उनले बताएका छन् ।