Kath khabar
चन्द्रमामा जापानी अन्तरिक्षयानको सफल अवतरण

 

                   काठमाडौं, माघ ७ । जापानी अन्तरिक्षयान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा)ले ‘स्मल लुनार ल्यान्डिङ डेमोन्स्ट्रेटर (स्लिम)’ ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको मध्य रेखा नजिकैको खाडल क्रेटरमा अवतरण भएको शनिबार पुष्टि गरेको हो ।

स्थानीय समयअनुसार उक्त जापानी मानवरहित यान राति १२ बजेर २० मिनेटमा चन्द्रमामा अवतरण गरेको जनाएको छ। यस सफलतासँगै एशियाली मुलुक जापान चन्द्रमामा नियन्त्रित रूपमा अवतरण गर्न सफल पाँचौँ देश बनेको छ ।

तर त्यसको सौर्य ऊर्जा प्रणालीमा समस्या देखिएसँगै उक्त मिसनले केही घण्टा मात्र काम गर्न सक्ने देखिएको छ। यद्यपि इन्जिनियरहरू अझै उक्त मिसनलाई जोगाउन लागि परेका छन् ।

अवतरणपछि चन्द्रमामा धेरै समय रहनका लागि तयार पारिएको सोलार ब्याट्रीको रिचार्ज हुन नसकेपछि यानमा रहेको व्याकअपको सहयोगमा चन्द्रमाका तस्बीर, चट्टान सङ्कलन तथा अनुसन्धानका अन्य गतिविधिहरू भइरहेका जाक्साले बताएको छ।

यसअघि अमेरिका, तत्कालीन सोभियत सङ्घ, चीन र भारत चन्द्रमामा पुगेका छन्।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update