नयाँ दिल्ली, माघ ७ । भारतीय अभिनेत्री रश्मिका मन्दानाको डिपफेक भिडियोको आरोपमा दिल्ली प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
आन्ध्र प्रदेशका २४ वर्षीय इमानी नवीनलाई दिल्ली प्रहरीले गरेको हो । उनले नै मन्दानाको डिपफेक भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।
उनको साथबाट प्रहरीले ल्यापटप र मोबाइल बरामद गरेका छन् भने यसको मेटाइएको डाटा पनि बरामद भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । फलोअर्स बढाउनका लागि उनले अभिनेत्री रश्मिका मन्दानासँगै अन्य दुई सेलिब्रेटीको फ्यान पेज बनाएको बताइएको छ ।
केही दिनअघि अभिनेत्री रश्मिका मन्दानाको एउटा डिपफेक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसमा अभिनेत्रीको अनुहार बेलायती प्रभावशाली जारा पटेलको अनुहारमा बदलिएको थियो । डीपफेक भिडियो भाइरल भएपछि रश्मिका मन्दानाले नोभेम्बर १० मा यस विषयमा एफआईआर दर्ता गरेकी थिइन् ।
आरोपीलाई पक्राउ गरेपछि रश्मिका मन्दानाले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै प्रहरीलाई धन्यवाद दिएकी छिन् ।