काठमाडौं, माघ ८ । पछिल्लो समय सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
सामाजिक सञ्जालमार्फत लामिछानेले आज साँझ पत्रकार सम्मेलन गर्ने बताएका हुन् । पत्रकार सम्मेलनबाट सबै कुरा स्पष्ट पार्ने बताउँदै उनले लेखेका छन् -
"गाली गर्न कोही छुट्नु भो कि? छुट्नु भएको भए गरिहालौं है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु। मिडियामा निरन्तर आइरहेका "स्लिप" मा कोहि "स्लिप" हुनै पर्दैन। बाँकी भ्याए सम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु।"
लामिछानेले ग्यालेक्सी फोरके टेलिभिजन टेलिभिजन सञ्चालनमा ल्याउन सहकारी संस्थाबाट गैरकानुनी रुपमा रकम स्थानान्तरण गरी लगानी गरेको विषय सार्वजनिक भएपछि उनी विवादमा तानिएका हुन् । उक्त प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले समेत अनुसन्धान गरिरहेको छ ।