काठमाडौं, माघ ८ । राष्ट्रिय सभा निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले विज्ञप्ति निकालेर मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो । मतदान सम्पन्न नभएसम्मका लागि मौन जारी रहनेछ ।
मौन अवधिमा राजनीतिकदलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने छैन ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमास्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न सम्वत् २०८० माघ ८ गते राती १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी,उम्मेदवार, दलको भातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य ब्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल गर्न नपाउने आयोगले जनाएको छ ।
साथै, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मतमाग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने आयोगले जनाएको छ ।