Kath khabar
अयोध्याको राम मन्दिर सर्वसाधारणका लागि, यस्तो छ आरतीको समय

 

                        काठमाडौं, माघ ८ । अयोध्याको भव्य राम मन्दिर आजदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । प्राणप्रतिष्ठा समारोहपछि पहिलो दिन बिहान ३ बजेदेखि नै श्रीरामलालाको पूजा-आराधना गर्न भक्तजनको भीड लागेको छ ।

मन्दिर बिहान ७ बजेदेखि ११:३० बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म दर्शनका लागि खुला रहनेछ । दिउँसो करिब साढे दुई घण्टा विश्रामका लागि मन्दिर बन्द रहनेछ । राम मन्दिरमा आरतीको समय पनि तोकिएको छ । यो आरती दिनमा तीन पटक हुनेछ । पहिलो आरती श्रृंगार आरती हो जुन बिहान ६ः३० बजे हुनेछ ।

यसबाहेक दोस्रो आरती भोग आरती हो, जसको समय दिउँसो १२ बजे तोकिएको छ । तेस्रो आरतीको समय साँझ ७ः३० बजे राखिएको छ, जुन साँझको आरती हुनेछ । मन्दिरमा प्रवेश गर्न अनिवार्य रुपमा पास चाहिन्छ । पास श्री राम मन्दिर तीर्थ क्षेत्र ट्रस्टले दिनेछ । राम मन्दिरको आरतीमा एक पटकमा ३० जना मात्रै सहभागी हुन सक्छन् ।

राम मन्दिर जानुअघि फोन बाहिर राख्नुपर्छ । यसका लागि नि:शुल्क लकर सुविधा उपलब्ध छ, जसमा भक्तालुहरुले आफ्नो सबै सामान राख्न सक्छन् ।

मंगलबार बिहान अयोध्याको भव्य मन्दिरमा अभिषेकपछि आम भक्तजनका लागि रामलल्लाको ढोका खोल्दा भक्तजनहरुको बाढी आएको छ । बिहान ३ बजेदेखि नै मानिसहरु लाईनमा उभिएको देखिएको छ । मन्दिर परिसरमा तैनाथ सुरक्षाकर्मीलाई स्थिति नियन्त्रणमा लिन मुस्किल परेको थियो । भिड बढेपछि दर्शनको समय पनि लम्बिन सक्ने बताइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update