काठमाडौं, माघ १० । आइसीसी–१९ वर्ष मुनिको पुरुष विश्वकप क्रिकेट अन्तर्गत नेपालले आज दोस्रो खेल पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा हुनेछ।
नेपाल प्रतियोगिताको समूह डी मा रहेको छ । नेपालसँगै यस समुहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् । समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले हारेकोले नेपाललाई अर्को चरणसम्म पुग्न आजको खेल निकै महत्त्वपूर्ण रहेको छ । यही समूहमा रहेको पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो ।
न्युजिल्यान्डविरुद्धको पहिलो खेलमा जितको लागि तीन सय तीन रनको लक्ष्य पाएको नेपालले दुई सय ३८ रन मात्रै बनाउन सकेको थियो । नेपालले समूहको तेस्रो तथा अन्तिम खेल १२ गते अफगानिस्तानसँग खेल्नेछ ।
विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष तीनमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।
नेपाली टोली :
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कंडेल, विशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, दिपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द