Kath khabar
काठमाडौंका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भोट नहाल्ने

 

                   काठमाडौं, माघ ११ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भोट नहाल्ने भएका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौँडामा मतदान भइरहेको छ । तर मेयर बालेन काठमाडौंमै छन् । उनी मतदानका लागि हेटौंडा नजाने बताइएको छ । कार्यव्यस्तताका कारण निर्वाचनमा सामेल नभएको मेयर बालेनको सचिवालयले जनाएको छ ।

उपमेयर सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगिसकेकी छन् । मतदानका लागि आज दिउँसो ३ बजेसम्मका लागि समय तोकिएको छ। मेयर बालेन स्वतन्त्र उम्मेदवार भएर चुनिएका हुन् भने उपमेयर नेकपा एमालेबाट निर्वाचित भएकी हुन् ।

गत मंसिरमा पनि प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मेयर बालेनले प्रदेश सभातर्फको मतदान बहिस्कार गरेका थिए । यस्तै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि अहिलेसम्म मतदान स्थल नपुगेको बताईएको छ ।

 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update